काठमाडौँ | त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मंगलबार बिहान मरेको चरा भेटिएको छ । सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए ।
सोमबार राति पनि धावनमार्ग जाँच गर्दा कोटेश्वरतर्फको धावनमार्गको किनारमा एउटा मरेको भँगेरा भेटिएको थियो । तर मरेको भँगेरा क्षतविक्षत नभएको अवस्थामा भेटिएको हुँदा जहाजमै ठोकिएको एकिन नभएकाले विमान उड्दा हुने ‘एयर मुभमेन्ट’ले मरेको हुन सक्ने आशंका गरिएको थियो ।
त्रिभुवन विमानस्थल एटीसीले फ्लाई दुबईको जहाज काठमाडौं बाहिर नेपाली आकाशमै रहेका बेला मरेको भँगेरा भेटिएको भन्दै त्यसबारे पाइलटलाई जानकारी गराएको थियो । उक्त जहाजको इन्जिनमा चरा ठोकिएरै आगलागी भएको हो वा होइन भन्ने दुबईको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेपछि मात्रै थाहा हुने सहप्रवक्ता भुलले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।
एफजेट–५७६ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गयो । नेपाली समय अनुसार राति दुई बजे(स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको छ ।यो घटनाका कारण फ्लाई दुबई विमानको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय (स्थानीय समयअनुसार राति ११ बजे) एक घण्टा पछि धकेलियो ।
सोमबार राति नै फ्लाई दुबईले दुबईबाट ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।
रासस