पृथ्वी दिवस
पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ, मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ ।
विश्व पृथ्वी दिवस कहिले देखि मनाउन थालियो ?
सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलो पटक यो दिवस मनाएको थियो ।
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुऱ्याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।
किन मनाइन्छ विश्व पृथ्वी दिवस ?
पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पृथ्वी दिवस
विश्व पृथ्वी दिवसका दिनमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिन्छ । यस दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिन्छ ।
कलेज तथा विद्यालयका विद्यार्थीहरूले ग्लोबल वार्मिङ तथा वातावरण प्रदुषणका विरुद्ध जनचेतनामूलक र्यालीको पनि आयोजना गर्दछन् । यस दिन सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि सेमिनार, गोष्ठी तथा विभिन्न उपलब्धीमूलक कार्यक्रमको आयोजना गर्दछन् ।
वर्तमान पृथ्वीको चुनौती :
२०औँ सताब्दीयता पृथ्वीको बढ्दो तापमान एउटा ठुलो चुनौती हो । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् ।
सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।
ठुला ठुला हवाईजहाज र परमाणु बमहरू सृजना र निर्माण गर्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन, माटो प्रकृति हो, हावा प्रकृतिको प्रवृत्ति हो अनि पानी जीवन हो ।
यस वर्षको विश्व पृथ्वी दिवसको मूल नारा :
“Invest in our planet” अर्थात् पृथ्वीमा लगानी गरौँ भन्ने यस वर्षको पृथ्वी दिवसको नारा रहेको छ ।
प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । प्रकृति सर्वोपरि छ, यसको सुरक्षा हाम्रो कर्तव्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचुरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस् ।


