spot_img
spot_img

युएईमाथि नेपालको सानदार जित

- Advertisement -

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो।

लिग-२ को शीर्ष पाँच टिमको एकदिवसीय मान्यता कायम रहने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियमअनुसार नेपालका लागि आइतबारको खेल महत्वपूर्ण थियो। जुन खेलमा पहिला ब्याटिङ गर्दै खराब सुरुवात गरे पनि नेपालका मध्यक्रमका ब्याटरले धैर्यपूर्वक इनिङ्ग्स सम्हालेका थिए।

बलिङमा भने नेपालले पहिलो ओभरदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै युएईमाथि लगातार दबाब बढाएको थियो।

आइतबारको जितले नेपालको लिग-२ को शीर्ष पाँचभित्र पर्ने पक्का हुँदा अमेरिकालाई पछि पारेर अंक तालिकाको चौथो स्थानमा समेत उक्लिएको छ। आजको हारले युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिने सम्भावना सकिएको छ। नेपालको जितले भने अमेरिकाको एकदिवसीय मान्यता लिग-२ बाटै कामय भएको छ।

त्रिवि मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो।

खराब सुरुवात गरेको युएईले ६ ओभरभित्र चार विकेट गुमाएको थियो। नेपालका ललित राजवंशीले युएईका वृत्य अरिवन्दलाई इनिङ्ग्सको पाँचौ बलमा बोल्ड गरेका थिए। यस्तै तेस्रो ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई पनि शून्यमै बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाए। त्यतिबेला युएईले ६ रन मात्र जोडेको थियो।

ललितले पाँचौ ओभरको चौथो बलमा मोहमद वासीमलाई ८ रनमा क्याच गराए। ललितले पहिलो र पाँचौ ओभर दुवैमा कुनै पनि रन नदिइ मेडन राखे।

५ ओभरमा ८ रन जोडेको युएईले छैटौं ओभरको पहिलो बलमा अर्को विकेट गुमायो। सोमपाल कामीले आशिफ खानलाई ६ रनमा विकेटकिपर आशिफ शेखबाट क्याच गराउदा नेपालले चार विकेट लिन सफल भयो।

युएईले १४औं ओभरमा पाँचौ विकेट गुमायो। नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले १३.४ ओभरमा रोहान मुस्ताफालाई ६ रनमा एलबिडब्लूको धरापमा पारे।

त्रिवि मैदानमा सुरुवातदेखि उत्कृष्ट लयमा देखिएका ललितले २९ रन बनाएर खेलिरहेका आयान खानलाई कुशल भुर्तेलको हातबाट क्याच गराएपछि नेपालले छैटौं विकेट लिएको थियो भने युएईमाथि झन् दबाब थपिएको थियो। सन्दीपले व्यक्तिगत दोस्रो र नेपालका लागि सातौं विकेट लिने क्रममा युएईका जावर फरिदलाई २ रनमा बोल्ड गरे। यस्तै गुल्झन झाले आश्वत भल्थापालाई १४ रनमा दिपेन्द्रबाट क्याच गराए।

बलिङमा नेपालका ललित राजवंशीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। यस्तै सोमपाल कामी, गुल्झन झा र दिपेन्द्रसिंह ऐरीले १-१ रनले पराजित गर्‍यो। ललितले ७.५ ओभरमा २ मेडन राख्दा २० रन मात्र दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २४८ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रन जोडे। उनले ११२ बलमा ९ चौका प्रहार गरे। लगातार विकेट गुमेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। जसका कारण नेपालको इनिङ उकासिएको थियो।

अर्धशतक प्रहार गरेसँगै रोहित नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी भए। रोहितले नेपालका लागि एक शतकसहित आठ अर्धशतक प्रहार गरेका छ्न्।

त्यसअघि नेपालका ओपनरद्वय आसिफ शेख शून्य र कुशल भुर्तेल ८ रनमा आउट भएका थिए। नेपालले पाँच ओभर चल्दै गर्दा दुवै ओपनरलाई गुमाएको थियो। ७.१ ओभरमा २२ रनको स्थितिमा तेस्रो विकेट गुमाउने क्रममा नेपालका कुशल मल्ल ९ रनमा पेभिलियन फर्के।

सुरुवातमा दुवै इन्डबाट स्पिनरलाई बलिङ गराएको युएईका आयान खान र आर्यन लक्रा प्रभावशाली देखाएका थिए। आर्यनले आसिफलाई बोल्ड गर्दा आयानले भुर्तेललाई एलबिडब्लूको धरापमा पारेका थिए।

तीन विकेट गएको अवस्थामा धैर्यपूर्वक ब्याटिङ गरेका भीम सार्कीले २९ रन जोडे। उनले ३७ बलमा ४ चौका प्रहार गरे। आरिफ शेखले जोडेको ४३ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। उनले ५२ बलमा ५ चौका हिर्काए।

गुल्शन झाले ३७ रन जोडे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३४ रन बनाए। उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

सन्दीप लामिछाने र सोमपाल कामी २-२ रनमा आउट भए। बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र रोहान मुस्ताफाले २-२ विकेट लिन सफल भए।

आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer