काठमाडौँ : आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भनिएको हो ।
विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको हुन्छ ।।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलियुग सुरु भएको तीन हजार च्वलिस (३०४४) वर्षपछि विक्रम संवत् सुरु भएको हो।
वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो। अहिले चलिरहेको नल ५०औँ संवत्सर हो।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
तपाईहरु सबैलाई Sprasa Media को तर्फ बाट नयाँ वर्ष २०८० को धेरै सुभकामना ।।
प्रदिप सुबेदी, प्रधान सम्पादक
साथै समस्त Sprasa Media परिवार