काठमाडौं – मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ ।
शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो ।
सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए ।
नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने सहमति भएको थियो ।
तर जसपाले मुख्यमन्त्री छाड्न चाहेन, बरु यादव नेतृत्वकै सरकारमा आउन अरु दलाई प्रस्ताव गरेको थियो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने पूर्वसहमति अनुसार मुख्यमन्त्री फेरिनुपर्ने बताएका थिए ।
तर शीर्ष नेताहरुको उपस्थितिमा लगातार दुई दिन भएको छलफलमा तत्काल जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । उनले अघि भने, ‘कसले कति र कहिले नेतृत्व गर्ने विषयपछि गठबन्धनको बैठक बसेर टुंग्याउने निर्णय भएको छ ।’
उनकाअनुसार तत्काल यसै प्रदेश सरकारमा कांग्रेस, लोसपा र नेकपा एकीकृत सहभागी हुन्छन् ।
मुख्यमन्त्रीसहित ११ मन्त्रालय मधेश प्रदेश सरकारमा एमालेले छाडेको चार मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय जसपा लिएको छ भने जनमत पार्टीले दुईवटा र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।
आजको बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु सहभागी थिए।
रासस