भरतपुर, चितवन । पानीको स्वच्छता र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने कुरा चितवनको बायोस्यान्ड फिल्टर उद्यमी संगठन नेपालको ११औँ वार्षिक सधारण सभामा मुखर रूपमा उठेको छ।
भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले आफ्नो पिउने पानीको सफासफाईलाई प्राथमिकता दिने र बायोस्यान्ड फिल्टरको प्रभावकारीतामा विश्वास व्यक्त गरे।
कार्यक्रममा बायोस्यान्ड फिल्टर उद्यमी संगठन नेपालका अध्यक्ष ईश्वरप्रसाद दाहालले स्थानीय सरकारसँग समन्वय गरी जनचेतना फैलाउने पहलमा रहेको जानकारी दिए। उनले यो फिल्टरले पानीमा रहेका गन्ध, आर्सेनिक, आइरन, धमिलोपना र ब्याक्टेरियालाई पूर्णरुपमा हटाउन सक्षम भएको उल्लेख गरे।
संगठनका कोषाध्यक्ष ज्ञानप्रकाश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसमा गत आर्थिक वर्षमा एक लाख ७३ हजार १८० वटा फिल्टर बिक्री गरिएको र आठ लाख ६५ हजार ९०० परिवार लाभान्वित भएको उल्लेख छ।
संगठनमा ४६ जना बायोस्यान्ड फिल्टर उद्यमी आबद्ध छन्, र एक आर्थिक वर्षमा १५० भन्दा बढी फिल्टर बिक्री नगर्ने सदस्यलाई सदस्यता नपाउने नियम रहेको जानकारी दिइयो।
चितवनमा बायोस्यान्ड फिल्टरको मूल्य छ हजार ५०० रूपैयाँ रहेको र यसको १५ वर्षको वारेन्टी प्रदान गरिएको छ। यो फिल्टरले प्रति घन्टामा २४ लिटर पानी प्रशोधन गर्न सक्ने क्षमता राख्छ।
पानीको सफासफाईमा बायोस्यान्ड फिल्टरको महत्वलाई उजागर गर्दै, यसले स्थानीय समुदायको स्वास्थ्य सुधारमा ठूलो भूमिका खेलिरहेको छ।